इजरायली आक्रमणको कारण गाजाका २६ अस्पताल बन्द

इजरायली आक्रमण तथा इन्धन अभावका कारण गाजाका २६ अस्पताल बन्द भएका छन । गाजाका ३५ मध्ये २६ वटा बन्द भएका हुन् । यस्तै, ७२ वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये ५२ वटा पनि बन्द भएका छन ।  ६ दिन अवधिमा अल–सिफा अस्पतालमा उपचार गराइरहेका ३ नवजात शिशुसहित ४० बिरामीको मृत्यु भएको छ । खान युनिसको अर्को अस्पताल अल–अमलले पनि तीन दिनदेखि इन्धन अभावको समस्या बेहोरिरहेको बताइएको छ । यस्तै, अस्पताल खाली गर्न इजरायली सेनाले दिएको चेतावनीपछि अल–सिफा अस्पतालबाट सयौं मानिस बाहिरिएका छन् । त्यहाँ अझै १ सय २० बिरामी रहेका छन । इजरायली सेनाले भने खाली गर्न चेतावनी दिएको नभई सुरक्षित बहिर्गमनका लागि समन्वय गर्ने जनाएको छ । अस्पताललाई हमासले आश्रयस्थल बनाएको आशंकामा इजरायली सेनाले छापा मार्दै आएको छ ।त्यस्तै इजरायली हवाई आक्रमणबाट खान युनिसमा २६ जना मारिएका छन् । खान युनिसको उत्तरपश्चिमी भेग हमादस्थित आवासीय क्षेत्रमा भएको आक्रमणमा २३ जना घाइते भएका छन् । उत्तरी गाजाको जावालीया शरणार्थी शिविरमा पनि आक्रमण भएको जनाइएको छ। इजरायली नेताहरुले गाजा सहरसहित उत्तरी गाजा आफ्नो नियन्त्रणमा आएको घोषणा गरेका छन । इजरायली हमलामा परि गाजामा अहिलेसम्म १२ हजारभन्दा बढी मारिएका छन् जसमध्ये ५ हजार बालबालिका छन् । 

प्रतिक्रिया