सरकारलाई  टिकटकको सात बुँदे पत्र, २९ लाख ८० हजार भिडिओ हटाएको दाबी

नेपाल सरकारले प्रतिबन्ध लगाएपछि आफ्ना असहमतिहरू व्यक्त गर्दै टिकटकले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । उसले नेपालका सरकारी निकायहरूसँग भएका समझदारी तथा नेपालमा भएका छलफलहरूबारे सातवटा बुँदामा स्मरण गराएको हो । टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय ‘आफूसँग’ नेपाल सरकारले निरन्तर संलग्न भएर काम गर्ने भनी गरेको सहकार्यको प्रस्ताव विपरीतको भएको पनि उसले उल्लेख गरेको छ । उसले आफू नेपाल सरकारसँग निरन्तर सहकार्य गर्न र आवश्यक प्रावधानहरू गरेर काम गर्न तत्पर रहेको जानकारी पनि दिएको छ । टिकटकमाथिको प्रतिबन्ध वाक् र अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तसँग मेल नखाने खालको भएको पनि टिकटकको भनाइ छ । पत्रमा सरकारको निर्णयबाट आफू ‘चकित परेको’  प्रतिबन्धले नेपाली युवाहरूलाई आर्थिक हानी गर्ने जनाएको छ । टिकटकले नेपालमा इन्टरनेट सुरक्षा सचेतना अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि जनाएको छ । स्थानीय कानुनको उल्लङ्घन भएको कुनै पनि सामग्रीबारे रिपोर्ट गर्न सकियोस भनेर सरकारलाई गत जुन सातमै ‘ट्रस्ट एन्ड सेफ्टी इन्फोर्समेन्ट टुलको पहुँच दिएको पनि टिकटकले स्मरण गराएको छ । त्यस्तै अगस्ट २९ मा आफू नेपालमा डिजिटल सेवा करदाताको रूपमा दर्ता पनि भएकोपनि अवगत गराएको छ । त्यस्तै उसले सन् २०२२ को अक्टोबरदेखि गत जुनसम्ममा टिकटकको ‘कम्युनिटी गाइडलाइनहरू’ उल्लङ्घन गरेका २९ लाख ८० हजार भिडिओहरू नेपालमा आफ्नो प्लेटफर्मबाट हटाएको जनाएको छ ।

प्रतिक्रिया