पछिल्लो १० महिनामा ८ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए

सन् २०२३ को १० महिनामा आठ लाख भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्षको जनवरीदेखि अक्टोबरसम्म आठ लाख नौ हजार ६ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका हुन ।  अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार ३ सय ६ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांकले देखाएको छ । सन् २०२२ को यही अवधिमा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । वोर्डका अनुसार अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८० जना पर्यटक नेपालमा भित्रिएका छन् । अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट आठ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८०, अष्ट्रेलियाबाट ६ हजार ७५, पर्यटक भित्रिए। यस्तै जर्मनीबाट पाँच हजार ९ सय ११, फ्रान्सबाट पाँच हजार २ सय ७१, बंगलादेशबाट चार हजार २ सय ९२, श्रीलंकाबाट दुई हजार ५ सय ७ र इटालीबाट दुई हजार ४ सय ६७ पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ । बोर्डका अनुसार सन २०२२ मा  एक वर्षमा ६ लाख १४ हजार १ सय ४८ विदेशी पर्यटक नेपालमा भित्रिएका थिए। यो सन् २०२१ को तुलनामा ३०९.७५ प्रतिशत र सन् २०२० को तुलनामा १ सय ६६ दशमलब ९२ प्रतिशत धेरै हो। सन् २०२२ मा सबैभन्दा बढी भारतीय पर्यटक आएका थिए । त्यसबेला २ लाख ९ हजार १०५ जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए । अहिले सिजन नै भएकाले अझै विदेशी पर्यटकको संख्या बढ्ने अनुमान छ ।। 
 

प्रतिक्रिया