महिला टी–ट्वान्टी आई क्रिकेटमा नेपाल तान्जानियासित पराजित
हङकङमा सुरु भएको टी ट्वान्टी महिला क्रिकेट सिरिजमा नेपाली टिम तान्जानियासँग पराजित भएको छ । सिरिजको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो । तान्जानियाले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा ८८ रनमा समेटियो । नेपालका लागि सिता राना मगरले ४३ रनको उत्कृष्ट इनिङ्स खेल्नु बाहेक अन्यको प्रदर्शन राम्रो रहेन । कप्तान इन्दु वर्माले १५ रन बनाईन् । अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । ओपनर उपकप्तान विन्दु रावल शुन्य रनमा पोविलियन फर्किएको खेलमा अर्की ओपनर पुजा महतो ३ रनमा आउट भएकी थिईन् । सम्झना खड्काले शुन्य, काजल श्रेष्ठले ९, रुबिना क्षेत्रीले शुन्य रनमा पोविलियन फर्किएका थिए । अश्मिना कर्मचार्य २, संगिता राई ४, इश्वरी विष्ट ३ र खुसी डंगोल शुन्य रनमा नटआउट भइन् । तान्जानियाकी सोफिया जेरोमले ३, निमा पायसले २ तथा पेरिस जकायो, म्वानम्वुआ उशांगा र आयशा मोहम्मदले समान १ विकेट लिएका थिए । बुधबार टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाको महिला टिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । चार देशलाई समावेश गरेर हङकङले महिला टी ट्वान्टी क्रिकेट सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल र तान्जानिया सहित आयोजक हङकङ र जापान सहभागी छन् । सिरिजको दोस्रो खेलमा नेपालले भोलि बिहीबार हङकङसँग खेल्नेछ ।।
प्रतिक्रिया