विकृति र अराजकता फैलाएकाले टिकटक बन्द गरियाे: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नेबाट बचाउन टिकटक प्रतिवन्ध लगाउनुपरेको प्रतिक्रिया दिएका छन । आज भक्तपुरको थिमीमा नेपाल संवत ११४४ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तापक्ष र प्रमुख प्रतिपक्ष एक ठाउँमा उभिएर प्रतिबन्धको निर्णय गरेको बताएका हुन । प्रधानमन्त्री दाहालले विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने अध्ययन गरेर नै टिकटक बन्द गरिएको दाबी समेत गरे ।
प्रधानमन्त्री दाहालले टिकटक बन्द गर्ने सरकारको उद्देश्य समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित रहेको बताए । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू राम्रो बनेर अरुलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएको भन्दै दुःख प्रकट गरे । नेपाली पर्वहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने उनको भनाइ छ ।
नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले सरकारले टिकटक प्रतिवन्ध लगाउने निर्णय खारेज गर्नुपर्ने बताए ।
सरकारले निर्णय तत्काल सच्याइ रुपमा नियमन गर्ने पाटो सशक्त रुपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इतिहासको सम्मान गर्न नसक्ने राष्ट्र र समाजको भविष्य उज्यालो हुन नसक्ने बताए ।
सभापति लामिछानेले ठाउँका नामहरु मौलिक रुपमा राख्नुपर्नेमा बाटो, गल्लीका नामहरु पहुँचवाला व्यक्तिको नाममा राख्ने परम्परा विकसित हुँदै जानुले ऐतिहासिक धरोहर, मूल्यमान्यता मेटिँदै गइरहेको गुनासो समेत गरे ।
प्रतिक्रिया