भूकम्पपीडितको तिहार चिसो सिरेठोमा पालमुनि

मानवीय तथा भौतिक क्षतिले छैन पर्वको रौनक

जाजरकोट र रुकुमका भूकम्प प्रभावित नागरिकको तिहार पनि दुःख र त्रासमा वित्ने भएको छ । चिसो सिरेठोमा खुला आकासमुनि पालको भरमा बाँचिरहेका भूकम्प पीडितले सामान्यतया दसैँ मनाए पनि कात्तिक १७ को भुकम्पले उनीहरुको विचल्ली बनाएको हो । भूकम्पले धनजनको क्षति गरेपछिका उनीहरुका पछिल्ला दिन कष्टकर तरिकाले व्यतित गरिरहेका छन।  भूकम्पले मानवीय तथा भौतिक क्षति सहनुपरेका दुवै जिल्लाका नागरिक हर्षोल्लासका साथ दीपावली मनाउन सकेनन । धेरैजसो घरमा शोक रहेकाले भाइटीका पनि मनाउने अवस्था रहेको छैन । जाडोको समयमा खुला आकासमुनिको बासले उहाँहरूलाई रात कटाउन निकै धौ–धौ छ । भूकम्पले जाजरकोटको भेरी र नलगाड, रुकुमपश्चिमका आठबीसकोट र सानीभेरी नगरपालिका ठूलो क्षति भएको छ । रुकुमपश्चिमको चौरजहारी तथा मुसिकोट नगरपालिका र बाँफीकोट तथा त्रिवेणी गाउँपालिका, सल्यानको सल्यानको दार्मा गाउँपालिका, बागचौर र बनगाड कुपिण्डे नगरपालिका प्रभावित भएका छन् । कात्तिक १८ गतेदेखि जाजरकोटका सातै स्थानीय तहका नागरिक खुला आकाशमा बिताइरहेका छन् । कर्णाली प्रदेश सरकारका अनुसार भूकम्पबाट मात्रै जाजरकोटका करिब ५५ हजार र प्रदेशभरि करिब ६५ हजार घरधुरी विस्थापित भएका छन् । विस्थापित सबैको बास भनेकै पाल रहेको छ । सो भूकम्पमा परी १५३ जनाको मृत्यु हुनुका साथै करिब ३ सय ५० जना घाइते भएका थिए ।।
 

प्रतिक्रिया