इजरायल आक्रमणले गाजाको अल शिफा अस्पताल मसानघाट बन्यो: डब्लुएचओ

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले गाजाको ठूलो अस्पताल अल शिफा मसानघाट जस्तो भएको जनाएको छ । अस्पतालमा लाशहरु भित्र बाहिर छरपष्ट भएको र उठाउन सक्ने अवस्था समेत नरहेको उसको भनाइ छ । अल शिफा अस्पतालले अवस्था विपत उन्मुख भएको र अत्यावशकीय इकाइहरु अवरुद्ध भएको जनाएको छ । अल–शिफा अस्पतालका डाक्टरले इजरायल डिफेन्स फोर्स ले अस्पताल खाली गर्न दिएको अनिवार्य आदेशलाई अस्वीकार गरेका छन् । अस्पतालमा उपचाररत करिब ७ सय बिरामीका कारण आफूहरुले अस्पताल छाड्न नसक्ने उनीहरुले बताएका छन् । अस्पतालका चिकित्सकका अनुसार हजारौँ मानिस अस्पताल परिसरमा आश्रय लिएका छन् । डा. अल–बुर्सका अनुसार निकासी आदेश कुनै पनि अन्तर्राष्ट्रिय मानवीय संस्थासँग समन्वय गरिएको छैन । गाजालै दोस्रो ठूलो अल कुद्स् अस्पतालको पनि सेवा बन्द भएको छ । दर्जनौँ नवजात शिशुहरु र ४५ मिर्गौला बिरामी डायलासिसको उपयुक्त उपचार विद्युत अभावले हुन नसकेको राष्ट्रसंघले जनाएको छ । केही दिनयता गाजा सहरको अस्पतालमा भीषण लडाइँ भई रहेको र इन्धन अभावले स्वास्थ्य उपचार हुन सकेको छैन । इजरायलले भने गाजाका अस्पताल सशस्त्र समूह हमासको कमाण्ड र नियन्त्रण केन्द्र भएको आरोप लगाउदै आएको छ । इजरायली सेनाले भने उत्तरी गाजाका अधिकांश रन्टीसी र अल–नासर अस्पतालहरू लगभग पूर्ण रूपमा खाली गरिसकिएको दाबी गरेको छ । यसैविच अमेरिकी राष्ट्रपति जो बाइडेनले अस्पताल सुरक्षित राख्न आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले विदेश मन्त्रालय पनि युद्धको तरिकाबारे असहमत रहेको उल्लेख गरेका छन । अक्टोबर ७ यता ११ हजार प्यालिस्टिनीको मृत्यु भएको छ ।  जसमा ४५ सयभन्दा बढी बालबालिका छन् । हमास आक्रमणमा १२ सय इजरायली मारिएका छन् ।
 

प्रतिक्रिया