सांसद विकास कोषको आठ अर्ब भूकम्प पीडितका लागि खर्च गर्ने

अस्थायी आवासका लागि तत्काल पचास हजार दिइने

सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको रकम भुकम्प पीडितको पुर्नस्थापनाका लागि खर्च गर्ने निर्णय गरेको हो । सांसद विकास कोषमा रहेको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो । सांसद विकास कोषको रकम खर्च नगर्न सर्वोच्चमा मुद्दा परेको समयमा सरकारले सो रकम रकम भुकम्प पीडितका लागि खच गर्ने निर्णय गरेको हो । त्यस्तै सरकारले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आह्वान पनि गर्ने भएको छ ।  मन्त्रिपरिषद् बैठकले कात्तिक १७ गतेको भूकम्पले पूर्ण क्षति भएका घरको अस्थायी आवासका लागि वडाको सिफारिशमा प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयपनि गरेको छ । भूकम्पले पूर्ण रूपमा क्षति भएका र बस्न नमिल्ने घरका लागि अस्थायी आवास निर्माण गर्न वडाको सिफारिशका आधारमा ५० हजार उपलब्ध गराउने निर्णय सरकारले गरेको हो । सरकारले भूकम्पपछि बन्ने आवास बिमाका लागि अध्ययन गर्न मुख्यसचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा समिति समेत बनाएको छ । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोटमा ९ हजार १ सय ८६ र रुकुम पश्चिममा ९ हजार ४ सय ६८ घरधुरी विस्थापित भएका छन । यसअघि सरकारले भूकम्पपीडितलाई तत्काल ५० हजार नगद राहत दिने निर्णय गरिसकेको  छ । भूकम्पबाट २६ हजार ५ सय २८ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ३५ हजार भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ ।पीडित परिवारलाई अस्थायी आवासका लागि जस्तापाता खरिदलगायत निर्माण सामग्रीका लागि राहत दिने सरकारको तयारी छ । क्षतिग्रस्त क्षेत्रमा तिहारपछि पुनर्निर्माणको काम थाल्ने सरकारको तयारी छ ।। 
 

प्रतिक्रिया