सुन पसलमा आगलागी हुँदा कम्तीमा २२ जना घाइते

मोरङको उर्लाबारी नगरपालिका– ७ मा रहेको एक सुन पसलमा आगलागी हुँदा कम्तीमा २२ जना मानिस घाइते भएका छन् । दीपक कार्कीको घरमा सञ्चालित सुन पसलमा आइतवार राति आगलागी हुँदा उनीहरू घाइते भएका हुन् । लक्ष्मीपूजा गर्दा सल्किएको आगो निभाउन जाने क्रममा प्रहरी र स्थानीयसहित २२ जना घाइते भएको मोरङ प्रहरीले जनाएको छ । यसैविच जलेर गम्भीर घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं लैजान पर्ने घाइतेका लागि अस्पतालसँग कोसी प्रदेश सरकारले समन्वय सुरु गरेको छ । घटनमा उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हवल्दार मनबहादुर घिसिङ, प्रहरी जवानहरू रितिकिरण राई र दिलकुमार आचार्य घाइते छन् । घाइतेमध्ये १२ जना बीएन्डसी अस्पताल बिर्तामोड,पाँच जना न्युरो आर्या विराटनगर,  सातजना विराट नर्सिङ होम विराटनगर, विराटनगरको रेडप्लस अस्पतालमा दुईजना,  लाइफलाइन अस्पताल दमकमा एकजना र गोदावरी अस्पताल उर्लाबारीमा एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । सुन पसलभित्र आगलागी भएपछि सटर खोल्दा आगोको मुस्लोले लागेर उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । करिब ३ घन्टापछि मध्यरात १२ बजे आगलागी नियन्त्रणमा आएको थियो ।।
 

प्रतिक्रिया