मुस्ताङको कोरोला नाका आजदेखि सञ्चालनमा

लोघेकर दामोदरकुण्ड र लोमान्थाङका बासिन्दा तिब्बत जान पाउने

माथिल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयहरुलाई लक्षित गरी कोरोला नाका आजदेखि सञ्चालनमा आएको छ । चीन सरकारले अहिलेलाई माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षितगरी नाका सञ्चालन गरेको हो । चीन सरकारको सहयोगमा नाकामा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट विओपीका लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरुको अनुरोधमा अस्थायी संरचना निर्माणका लागि चीन सरकारले  पाँचवटा कन्टेनर उपलब्ध गराएको छ ।   नाका सञ्चालन गर्न नेपालतर्फ कुनै भौतिक संरचना नभएका कारण चीन सरकारले अस्थायी भवन निर्माणका लागि कन्टेनर उपलब्ध गराएको छ ।लोमान्थाङका साथै लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरुका लागि सञ्चालन हुने नाकामा आवतजावतका लागि एक महिनाअघि अनुमतिपत्र वितरण गरिएको छ । अनुमतिपत्रका आधारमा माथिल्लो मुस्ताङका सर्वसाधरणहरु कोरला नाकामा आवतजावत गर्न पाउने छन् । कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो । नाका सञ्चालन नहुँदा माथिल्लो मुस्ताङका स्थानीयहरुको जनजीवन प्रभावित हुँदै आएको थियो । यसअघि कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशीय व्यापार मेला हुनेगरेको थियो । नाका संचालन हुनेभएपछि स्थानीयहरु उत्साहित भएका छन । नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९ सय ८० जनालाई ‘नेपाल चीन सीमाक्षेत्रमा प्रस्थानका लागि  प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको छ । जोमसोमदेखि कोरला नाकासम्म दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ । चीनले नाकासम्म पक्की सडक र सुविधा सम्पन्न भवन बनाएको छ । नाका सञ्चालनमा आएपछि माथिल्लो मुुस्ताङका सर्वसाधरणहरुले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, इलोक्ट्रोनिक सामग्री, लत्ताकपडालगायत आयात गर्न पाउने छन् भने यताबाट पस्मिना, कृषि उत्पादन र यार्सागुम्बाको निर्यात हुने बताइएको छ ।। 

प्रतिक्रिया