कपडा र खाना अभावमा जाजरकोट भुकम्पका पीडित विरामी पर्न थाले
न्यानो कपडा र खाना अभावमा जाजरकोट भुकम्प पीडित विरामी पर्न थालेका छन । यस्तोमा झाडापखाला, रुघाखोकी, ज्वरोलगायतका समस्या लिएर स्वास्थ्य संस्था पुग्ने पीडित बढ्न थालेका छन् । जाजरकोट केन्द्र भएर एक साताअघि गएको भूकम्पले जाजरकोटमा ९ हजार १ सय ८६ र रुकुम पश्चिममा ९ हजार ४ सय ६८ घरधुरी विस्थापित भएका थिए । खुला आकासमुनि बसिरहेका बेला मुस्किलले पाएको त्रिपालले उनीहरुलाई केही राहत दिएपनि चिसोका कारण पीडित धमाधम विरामी पर्न थालेका हुन । विशेष गरी बालबालिका तथा ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । भूकम्पको एक साता बित्दा पनि सबै पीडितले ओत लाग्ने त्रिपालसम्म पाएका छैनन । कात्तिक १७ गते ६.५ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्केपछि भूकम्प प्रभावितहरू खुला आकाशमुनि बसिरहेका छन् । तत्काल दिइएको राहतका त्रिपाल र फोम र खाद्य सामग्री विभिन्न सङ्घसंस्थाले बाँडेका थिए । तर त्रिपालले चिसो थेग्नुभन्दा अझ बढी चिसो बनाउँदा भूकम्प प्रभावित चिसोले थलिन थालेका छन् । प्रभावितले त्रिपालभन्दा पनि टेन्टको माग गरे पनि टेन्ट कसैले ल्याएका छैनन् । नेपाली सेना र सशस्त्र प्रहरीले बनाएका एकाध टेन्टबाहेक सबै पीडित त्रिपालमा बसिरहेका छन् । राहत ल्याउनेले पनि प्रायः सबैले त्रिपाल बोकेर आउँदा प्रभावित खिन्न छन् । सरकारले एकद्वार प्रणालीमा वितरण गर्ने भनेको राहतको चाङ जाजरकोटको सदरमुकाम खलङ्गामा थुप्रिएको छ । अन्य धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरू पनि टेन्टभन्दा त्रिपाल नै बोकेर प्रभावित क्षेत्र पुगिरहेका छन् । प्रायः राहत सामग्रीमा त्रिपाल नै आएकाले समस्या भएको छ । चिसोका कारण त्रिपालभन्दा टेन्टको माग भए पनि राहतमै नभएकाले समस्या आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दस वटा टेन्ट सुत्केरी, वृद्धवृद्धा र बालबालिका धेरै भएका परिवारलाई दिइने गरी प्रशासन कार्यालयले निर्णय गरेको छ । तर स्थानीयले पालिकामार्फत जुन राजनीतिक दलको पहुँचकाले मात्र पाउने भएकाले सबैलाई समान रूपमा वितरण गर्न माग गरेका छन् । कति घर क्षति भयो भन्ने यकिन विवरण पनि प्रशासनले तयार गर्न सकेको छैन । जसका कारण राहत वितरणमा समस्या देखिएको छ ।
प्रतिक्रिया