विषाक्त तुवाँलोले पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त

काठमाडौं । विषाक्त तुवाँलोले पूर्वी पाकिस्तानमा जनजीवन अस्तव्यस्त भएको छ । विषाक्त तुवाँलोका कारण हजारौँ मानिस बिरामी पर्न थालेका छन् । पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा वायु प्रदूषणको स्तर खतराको तहमा पुगेको छ । पञ्जाब प्रदेश सरकारले लाहोरलगायत तीन वटा सहरका विद्यालय, कार्यालय, सपिङ मल र पार्कहरू बन्द गरेको बीबीसीले जनाएको छ । विगत केही दिनदेखि लाहोरको वायु गुणस्तर सूचक झण्डै चार सय अङ्कको आसपास छ । सामान्यतया एक सय वा त्यसभन्दा कम अङ्कको वायु गुणस्तर सूचकलाई सन्तोषजनक मानिन्छ । अहिले उत्तरी भारत पनि विषाक्त तुवाँलोबाट प्रभावित बनेको छ । भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको तहले चेतावनीको स्तर पार गरिसकेको छ । सामान्यतया तीन सय एकदेखि पाँच सयसम्मको अङ्कमा वायु गुणस्तर हुनुलाई हानिकारक मानिन्छ । हानिकारक वायुले स्वास्थ्य र दैनिक जनजीवन प्रभावित पार्ने गर्छ ।

प्रतिक्रिया