सामाजिक सञ्जाल अनिर्वाय रूपमा सूचीकृत हुनपर्ने
नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल कम्पनीहरू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको सामाजिक सञ्जाल व्यवस्थापन एकाइमा अनिर्वाय रूपमा सूचीकृत हुनपर्ने भएको छ । नेपालमा मुख्य रूपमा फेसबुक, एक्स, युट्युब, टिकटक, इन्स्टाग्राम, लिङ्कडी, स्न्यापच्याटलगायतका सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । सबै सामाजिक सञ्जाललाई सूचीकृत हुन तीन महिनाको अवधि दिइएको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रीपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गरेको हो । यसँगै सामाजिक सञ्जाल अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने भएको हो । सामाजिक सञ्जालमार्फत समाजमा अराजकता बढेको गुनासा बढेकाले निर्देशिकामा प्रमुख रूपमा स्वनियमनको प्रावधान राखिएको सरकारको दाबी छ । सञ्चार मन्त्रालयमा एउटा सामाजिक सञ्जाल व्यवस्थापन निकाय रहने र सामाजिक सञ्जालसँग सम्बन्धित सञ्चार मन्त्रालयका निकायहरूमा एउटा सम्पर्क व्यक्ति रहने बताइएको छ । एकाइमा ती कम्पनीले अनलाइन विवरण बुझाएर सूचीकरणको प्रमाणपत्र पाउने बताइएको छ ।
प्रतिक्रिया