भरतपुर महानगर र चीनको सिगात्से शहर बीच भागिनी सम्बन्ध कायम

भरतपुर महानगर र चीनको सिगात्से शहरका बीचमा भागिनी सम्बन्ध कायम भएको छ । आज काठमाडौंमा भरतपुर महानगर प्रमुख रेनु दाहाल र सिगात्सेका नगर प्रमुख लिउ स्वाचुङ्गबीच दुई शहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै आगामी दिनमा दुई देश र दुई शहरबिचमा बलियो र प्रगाढ सम्बन्ध बन्ने विश्वास भरतपुर महानगरप्रमुख दाहालले व्यक्त गरिन । 
समझदारी पत्रमा दुई शहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने उल्लेख गरिएको छ । त्यस्तै, साझा समृद्धि र विकासलाई प्रवद्र्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदान–प्रदान गरिने समझदारी भएको छ ।  भगिनी सम्बन्ध पाँच वर्षको लागि मान्य हुने र समझदारी पत्रको वैधता अवधि समाप्त भएपछि यदि कुनै पक्षले असहमति नजनाएसम्म स्वतः मान्य हुने समझदारीपत्रमा उल्लेख छ ।

प्रतिक्रिया