प्रधानमन्त्री दाहाल र चिनिया नेता वाङ जुनझेङबीच भेटवार्ता
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका तिब्बत सचिव वाङ चुनचङले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ । आफ्नो ५ दिने लामो नेपाल भ्रमणमा बुधबार मात्रै काठमाडौं आइपुगेका चुनचङ नेतृत्वको टोलीले आज प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेटवार्ता गरेको हो । भेटमा दुईपक्षीय हित लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ प्रधानमन्त्री दाहालको निमन्त्रणमा नेपाल आएका हुन् । काठमाडौं आए लगत्तै सचिव वाङले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेटेर आफनो भेटघाट थालनी गरिसकेका छन् । भ्रमण दलले अन्य दलका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यतालिका रहेको छ । वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् ।चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने र चीन–नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका पनि रहेको छ । भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने बताइएको छ ।
प्रतिक्रिया