एन्फा साधारण सभा आजवाट हेटौडामा

अध्यक्ष र महासचिवविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावमाथि छिनोफानो आज लाग्ने भएको छ । एन्फाले अविश्वासको प्रस्तावमाथि मतदानका लागि आज हेटौडामा विशेष साधारण सभा हुन लागेको हो । आज अविश्वासको प्रस्तावमाथि मतदान भएर निर्णय आउने बताइएको छ । एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको माग सहित अविश्वासको प्रस्ताव दर्ता गराएका छन । फुटबल चलाउन नसकेको विभिन्न १९ आरोप सहित एन्फाका ४९ सदस्यले नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका हुन । फुटबल संघको इतिहासमा नेम्वाङले पहिलो पटक अविश्वासको प्रस्ताव फेस गर्न लागेका हुन । अध्यक्ष नेम्वाङले आफुविरुद्धको प्रस्ताव मात्र साधारण सभामा छलफल गराउन लागेका हुन । उनले महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार विधानले कार्यसमितिलाई दिएको भन्दै विशेष साधारण सभामा लैजान विधान सम्मत नहुने तर्क अघि सारेका छन् । सोही अनुसार अध्यक्ष नेम्वाङमाथि लागेको अविश्वासको प्रस्तावमाथि आज मतदान हुने कार्यक्रम रहेको छ । एन्फामा जिल्ला, क्लब र संघ गरि १ सय ५ सदस्यहरु छन् । तर जम्मा ८७ जनालाई मात्र मतको अधिकार रहेको छ । एन्फा विधान अनुसार अध्यक्ष सहित पदाधिकारी बर्खास्तीका लागि दुई तिहाई मत आवश्यक पर्छ । एन्फाको मतभार अनुसार नेम्वाङ बर्खास्तीका लागि ५८ जनाको मत संस्थापन इतरलाई आवश्यक छ । अध्यक्षविरुद्ध दुई तिहाई पुर्याउन संस्थापन इतरलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सदस्य सहित थप ९ मत आवश्यक छ । 

प्रतिक्रिया