जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम सुरु हुने
भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भंगहाबाट बर्दिबाससम्म बाँकी रेलमार्ग निर्माण हुने जानकारी दिएको हो । रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली आगामी मंसिर १५ गतेभित्र भित्र्याउन विभागले आग्रह गरेको छ । विभागले भंगहा विजलपुरा बर्दिबास रेलमार्ग उपखण्ड एवं पूर्वपश्चिम विद्युतीय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माण कार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्र्याउन आग्रह गरेको हो । मंसिर १५ गतेपछि बालीनाली लगाएमा किसानलाई त्यसको क्षतिपूर्ति नदिने विभागले जनाएको छ । भारतको जयनगरबाट महोत्तरीको बर्दिबासम्म रेल सञ्चालन गर्न तीन चरणमा काम भइरहेको छ । पहिलो चरणमा जयनगरबाट कुर्थासम्म तथा दोस्रो चरणमा कुर्थाबाट भंगहासम्म निर्माण पूरा भई रेल सेवा सञ्चालनमा आइसकेको छ । तेस्रो चरणमा भंगहाबाट बर्दिबाससम्म मार्ग निर्माण हुन लागेको हो ।
प्रतिक्रिया