इजरायली सेना गाजाको केन्द्र भागमा प्रवेश
इजरायली सेना हमास नियन्त्रित गाजाको केन्द्र भागमा प्रवेश गरेको छ । रक्षामन्त्री योभ ग्यालान्टले आफ्ना सैनिकहरु गाजाको केन्द्रमा पुगेको घोषणा गरेका हुन् । रक्षामन्त्री ग्यालान्टका अनुसार इजरायली सेनाले अहिले जल, स्थल र हवाई आक्रमणमार्फत गाजामाथि आक्रमण जारी राखेको छ ।इजराली सैन्य आक्रमण र गाजामा भइरहेको हताहतीको भने विश्वव्यापी विरोध भइरहेको छ । हमासको मुख्य गढ कब्जामा लिएको दाबी गरेको इजरायली सेनाले यसअघि गाजाको दक्षिण भागमा रहेको खान युनिस,रफाह र देइर अल बालाहमा हवाइ आक्रमण गर्दा दर्जनौको मृत्यु भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको युद्ध समाप्त भएपछि गाजामाथि अनिश्चितकालीन नियन्त्रण राख्ने दाबी गरेका छन । नेतान्याहुले आफ्नो देशले गाजा क्षेत्रको ‘समग्र सुरक्षा जिम्मेवारी’ लिने बताउँदै मानवीय सहायता र बन्दक निकाल्न केही समयका लागि आक्रमण रोके पनि युद्ध नरोकिने दाबी गरेका हुन । विश्व स्वास्थ्य संगठनले इजरायल र हमासबीचको युद्धले गाजामा भएको विनाश अकल्पनीय भएको बताएको छ । त्यहाँ दैनिक एक सय ६० भन्दा बढी बालबालिका मारिने गरेको पनि संगठनले जनाएको छ ।इजरायलमा हमासले आक्रमण गरेको एक महिना पुगेकै दिन दिवंगतहरुको स्मरण गरिएको छ । हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । त्यसयता दुवै तर्फ १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । चार हजारभन्दा धेरै बालबालिका मारिएका छन् । मारिने सर्वसाधारणमध्ये धेरै प्यालेस्टिनी नागरिक रहेका छन ।
प्रतिक्रिया