राहत वितरण सुरु गरेको बताएपनि नपाएको भुकम्प पीडितको गुनासो

सरकारले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई सोमबारदेखि राहत वितरण सुरु गरेको बताएपनि पीडितले नपाएको गुनासो गरेका छन । सरकारी तथा गैरसरकारी निकायले भूकम्पपीडितका लागि उपलब्ध गराउने भनिएको राहत सामग्री सुगममै थन्किएको हो । भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जाजरकोट सदरमुकाम खंलगा र पालिकाको केन्द्रमै राहत थन्किएको हो । विभिन्न निकायले उपलब्ध गराएको राहत सामग्री सुगममै थन्किएका कारण सबैभन्दा मारमा दुर्गमका पीडितहरू परेका छन् । जिल्ला प्रशासन कार्यालयले जाजरकोटले एकद्वार प्रणालीबाट राहत वितरण गरिएको दाबी गरेको छ । राहत सामग्री सदरमुकाम र पालिकाको केन्द्रसम्म पुगे पनि पीडितले पाउन नसक्दा थप संकट पैदा भएको छ । भूकम्पबाट घरबारविहीन भएको चारदिनसम्म पनि त्रिपाल, खाद्यान्न र कपडालगायतका राहत सामग्रीहरू नपाउँदा थप समस्या भएको पीडितको गुनासो छ । जाजरकोटको नलगाडमा पीडितहरू चिसोका कारण बिरामी पर्न थालेका छन्। त्रिपालबिनै चिसोमा रात काट्नु परेका कारण रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । राहत सामग्री थुप्रिए पनि सडक नपुगेको बस्तीका पीडितले पाउन सकेका छैनन । बचेका कपडा र खाद्यान्न निकाल्न नपाएका कारण पनि कतिपय पीडितले भोकभोकै बस्नुपर्ने अवस्था भएको छ । प्रशासनले भने सोमबारसम्म ६ हजार कम्बल, ७ हजार त्रिपाल र चामल २५ सय बोरा पालिकाहरूलाई जिम्मा लगाएको जनाएको छ । 

प्रतिक्रिया