राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले युरोप भ्रमण स्थगित गरेका हुन । विनाशकारी भूकम्पले विपत्ति निम्त्याएका बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले फ्रान्स, जर्मनी र इटाली मुलुकको भ्रमण स्थगित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेसनोटमार्फत जानकारी दिएका छन । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ठूलो मानवीय क्षतिका कारण देश शोकमा डुबेको अवस्थामा राष्ट्रपति विदेश भ्रमण जान उपयुक्त नहुने भन्दै भ्रमण स्थगित गर्न दवाव परेको थियो । युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्ला पुगेर स्थानीयको अवस्था बुझ्ने भएका छन ।  राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । बिहीबार मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको यी देशको भ्रमण स्वीकृत गरेको थियो। राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन जाँदै थिए । उनी सो कार्यक्रममा सहभागी हुन कात्तिक २२ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । कार्यक्रममा सहभागितापश्चात् जर्मनी र इटालीको भ्रमण गरेर मंसिर १ गते स्वदेश फिर्ता हुने गरी राष्ट्रपति पौडेलको भ्रमण कार्यक्रम सरकारले स्वीकृत गरेको थियो। ।  उनको भ्रमणका क्रममा फ्रान्स, जर्मनी र इटलीका राष्ट्रपतिसँग तीन दशकपछि पहिलोपटक उच्चस्तरीय भेटवार्ताको कार्यक्रम पनि तय भएको थियो ।

प्रतिक्रिया