जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर फेरि ५ दशमलव ८ म्याग्निच्युडको भूकम्पको धक्का
काठमाडौ । शुक्रबार राति ६ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको जाजरकोटमा आज फेरि ठूलो धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर ५ दशमलब ८ म्याग्निच्यूडको परकम्प गएको हो । केन्द्रका अनुसार आज अपरान्ह ४ बजेर ३१ मिनेटमा ५ दशमलब ८ र ४ बजेर ४० मिनेटमा ४ दशमलब ५ म्याग्निच्यूडका गरि दुई पटक परकम्प गएका हुन । परकम्पको शक्तिशाली धक्काले स्थानीय नागरिक फेरि त्रसित भएका छन । भुकम्पपछि प्रभावित क्षेत्रमा केही समय भागाभाग समेत भएको थियो । अधिकांश प्रभावित खुला क्षेत्रमा बसेकाले पराकम्पले क्षति कम गरेको अनुमान प्रहरी प्रशासनले गरेको छ । रुशुक्रबारको भूकम्पमा परि १ सय ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने एक हजारभन्दा धेरै घर पूर्णरुपमा क्षति भएका छन । शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ । आजको पराकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्म महसुस भएको भारतीय संचारमाध्यामले जनाएका छन ।
प्रतिक्रिया