भूकम्पमा मृत्यु भएका १५७ जनाको शव आफन्तलाई बुझाइयो

जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेको मन्त्रालयले जनाएको छ । भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् । भुकम्पमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन भने एक सय १० जना उपचाररत छन् । शुक्रबार रातिको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी ३ हजार १ सय ४१ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । गृह मन्त्रालयका अनुसार रुकुम पश्चिममा भूकम्पले २ हजार १३६ घरमा पूर्ण क्षति भएको छ । त्यसैगरी, २ हजार ६४२ घरमा आंशिक र ४ हजार ६७० वटा घरमा सामान्य क्षति भएको छ । त्यस्तै, भूकम्पबाट जाजरकोटमा ९ सय ५ घरमा पूर्ण क्षति भएको छ । त्यस्तै, जाजरकोटमा २ हजार ८ सय ३८ घरमा आंशिक क्षति पुगेको छ । सबैभन्दा धेरै भेरी नगरपालिकामा ३ सय ४४ वटा घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । नलगाड नगरपालिकामा २ सय घरमा क्षति पुग्दा छेडागाड नगरपालिकामा एक सय घरमा क्षति पुगेको छ । त्यस्तै, कुशे गाउँपालिकामा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालय गाउँपालिकामा १ र जुनिचाँदे गाउँपालिकामा ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी, भूकम्पबाट सल्यानमा ९७ वटा घरमा आंशिक र २५ घरमा पूर्ण क्षति पुगेको छ । भूकम्पका कारण ११ वटा जिल्ला प्रभावित भएको मन्त्रालयले जनाएको छ । 
 

प्रतिक्रिया