चिनीको कृत्रिम अभाव गरि महँगोमा बिक्री गर्नेलाई कारबाही हुने
सरकारले चिनीको कृत्रिम अभाव सिर्जना गरेर महँगोमा बिक्री गर्नेलाई कारबाही गर्ने सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले चिनीको कृत्रिम अभाव सिर्जना गरेर प्रतिकेजी १६० रुपियाँ लिने दुई वटा पसललाई कारबाही गरेको हो । बजारमा चिनी पर्याप्त आइसकेकाले प्रतिकेजी चिनीको ११५ रुपियाँभन्दा बढी लिनेलाई कानुन अनुसार कारबाही गरिएको हो । नेपाली उद्योगीसँग विभिन्न पेय पदार्थ उत्पादन कम्पनीले खरिद गरेर राखेको छ हजार मेट्रिक टन चिनी देशभरका बजारमा गइसकेकाले अब अभाव नहुने सरकारको दाबी छ । बजारमा पर्याप्त चिनी आइसकेको र अब पनि विभिन्न बहाना बनाएर महँगो लिएमा कारबाही हुने विभागको भनाइ छ । यसै गरी भारतबाट २५ हजार मेट्रिक टन चिनी ल्याउने प्रक्रिया सुरु भइसकेको छ । तिहार र छठको एक महिनाको अवधिमा १० हजार टन चिनी खपत हुन्छ । चिनीको खपत व्यावसायिक क्षेत्रले ७५ प्रतिशत गर्छन् भने त्यसमा घरायसी प्रयोजनमा २५ प्रतिशत खपत हुन्छ । नेपालमा चिनीको वार्षिक खपत साढे दुई लाख टन रहेको छ ।
प्रतिक्रिया