मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम आजदेखि लागू

आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको हो । यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणले जनाएको छ ।  एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैनन भने ती फोनहरू ब्लक हुनेछन् । प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न आह्वान गरेको थियो  । सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको छ ।  सोही अनुसार प्राधिकरणले आजदेखि एमडिएमएस लागू गर्न लागेको हो ।  प्राधिकरणका अनुसार सुरूमा ’हाइ रेन्ज’ का मोबाइल ह्यान्डसेटमा यो लागू हुनेछ । यसमा एक लाखभन्दा महँगा फोनहरू पर्नेछन् । प्रणालीमा दर्ता नभएका ह्यान्डसेटहरू क्रमशः दैनिक रूपमा ब्लक गर्दै जाने प्राधिकरणले जनाएको छ । प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो ।  वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ । यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन् । नेपालमा करिब १० हजार हाइ एन्ड फोन गैरकानूनी तथा एमडीएमएसमा दर्ता नभइ चलिरहेको बताइन्छ ।  
 

प्रतिक्रिया