सुपर ओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो उपाधि

आईसीसी टी ट्वान्टी विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्र छनोटको उपाधि ओमानले जितेको छ । आईतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा ओमानले नेपाललाई सुपर ओभरमा पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ५२ र गुल्सन झाले ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । ओपनर कुशल भुर्तेलले ३१, करन केसीले अविजित २० र सन्दीप जोराले १० रन बनाए । ओमानका बिलाल खानले ३, आकिब इलियासले २ र जिशान मकसुदले १ विकेट लिए । १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । ओमानका लागि ओपनर कश्यप प्रजापतीले ६३, आकिब इलियासले ३३, जिसान मकसुदले २६ र मोहम्मद नदिमले अविजित २४ रन बनाए । नेपालका सन्दीप लामिछाने र करन केसीले समान २–२ तथा सोमपाल कामी, गुल्सन झा, अविनाश बोहरा र विवेक यादवले १–१ विकेट लिए । नेपाल र ओमान यसअघिनै अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा छनोट भैसकेका छन् ।।
 

प्रतिक्रिया