गृहमन्त्री श्रेष्ठ सहित मन्त्रीहरु जाजरकोटमा

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ जाजरकोट भूकम्पबाट पीडितहरूका लागि राहत र उपचारका सामाग्री लिएर त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्री श्रेष्ठको टोलीमा संघीय सरकारका चार मन्त्री र केही सांसदहरु समेत छन् । सरकारले राहतका सामाग्री पु¥याउन नसकेको गुनासो आइरहेका बेला गृहमन्त्री श्रेष्ठसहित चार मन्त्री राहत सामाग्री बोकेर त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीहरुले १ हजार ५० थान स्लिपिङ ब्याग, २ सय  थान त्रिपाल र १ सय थान ब्ल्याङकेटसहितका सामाग्री लगेका छन् । टोलीमा उपप्रधानमन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत र सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायत छन् । यसैविच उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामाग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । आज रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्दारको काम सम्पन्न भइसकेकाले संघ, प्रदेश सरकार राहत र पुनस्थापनामा लागेको बताए । उनले आज र भोलिसम्ममा राहतका सबै सामाग्रीहरू जिल्लामा पुर्याईसक्ने बताए । शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई टकले विरामीहरूको उद्दार गरेको थियो भने आइतबारदेखि राहत सामाग्रीहरू सेनाका हेलिकप्टरले ढुवानी गरिररहेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भुकम्प प्रभावित जिल्लामा  छन । शुक्रबार मध्यरात गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मात्रै १ सय ५७ जनाको मृत्यु भएको छ भने डेढ सयभन्दा धेरै घाइतेको उपचार भइरहेको छ । 

प्रतिक्रिया