भूकम्पपीडितले खुला आकाशमुनि रात बिताए
राहत र पुर्नस्थापना कार्यक्रम छिटो सुरु गर्न आग्रह
जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितले खुला आकाशमुनि रात बिताएका छन् । घर भत्किएकाहरुले खुला आकाशमा पाल टाँगेर रात बिताएका छन् । जाजरकोटको सरदरमुकाम खलंगामा अधिकांशले सडक पेटीमा रात बिताएका छन् । शुक्रबार राति आएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले मानवीयका साथै भौतिक क्षति पुगेपछि पीडित खाली चौरमा रात विताउन बाध्य भएका हुन । घर नभत्किाएकाहरु पनि फेरि भूकम्प आउने डरले बाहिरै बसेका छन् । केहीले आगो तापेर रात कटाएका छन् । यसैविच शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका जाजरकोटका र पश्चिम रुकुमका ३९ जनाको नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचार हुँदैछ । थप ६ जना घाइतेलाई उपचारका लागि ल्याइसंगै भेरीमा ३८ जना र एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको हो । शुक्रबारको भूकम्पमा परेका जाजरकोटका २९ र पश्चिम रुकुमका १० जनाको अस्पतालमा उपचार भैरहेको हो । भेरीमा घाइतेको उपचारमा कुनै कमी हुन नदिइएको र अस्पताललाई स्थानीय तहले पनि जनशक्ति सहयोग गरेको अस्पतालले जनाएको छ । उपचारमा महिला २१, पुरुष १८ रहेका छन् । जसमध्ये बालबालिका १२, गर्भवती १ र जेष्ठ नागरिक ५ जना रहेका छन् ।।
प्रतिक्रिया