जाजरकोट भूकम्पमा ज्यान गुमाउने परिवारलाई तत्काल दुई लाख राहत
सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ । भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पनि सुरु गरिहाल्ने सरकारले निर्णय गरेको छ । यसका लागि रकम निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यस्तै सरकारले भूकम्पमा परेर घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने भएको छ । जतिसुकै महंगो उपचार गर्नुपर्ने भए पनि सरकारले निःशुल्क उपचार गर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । काठमाडौंमा वीर, ट्रमा, टिचिङ, गंगालाललगायतका अस्पताल अलर्ट अवस्थामा राखिएको बताउँदै अबउद्धार गर्नुपर्ने अवस्थाका बिरामी बाँकी नभएकोपनि उनले बताए । सरकारले तीन दिनभित्र भूकम्प प्रभावित क्षेत्रमा राहत सामाग्री पुगिसक्ने जनाएको छ । केहि राहत सामाग्री र औषधी प्रभावित क्षेत्रमा पुगिसकेको र केही बाटोमा जाँदै गरेकाले ३ दिन भित्र पुग्ने सरकारको भनाइ छ । जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति ११ बजेर ४७ बजे गएको छ दशमलब चार म्याग्नेच्युडको भूकम्पले दुई जिल्लाका भौतिक संरचनाहरू नष्ट पारेको छ । भूकम्पमा परी १ सय ५७ जनाले ज्यान गुमाएका छन् भने हजारौं घरविहीन भएका छन । भूकम्पपीडितलाई राहत र पुनस्थापनाका लागि निर्णय गर्न प्राधिकरणको बैठक बस्न लागेको हो ।
प्रतिक्रिया