भूकम्प प्रभावितलाई भोलिदेखि राहत र पुनस्र्थापनाको काम शुरु गरिने

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत अनुगमन गरेका छन् । शनिवार प्रधानमन्त्री दाहाल सेनाको हेलिकोप्टरबाट जाजरकोट र रुकुम पश्चिम पुगी भूकम्प प्रभावित क्षेत्रको निरीक्षण र घाइतेहरुको अवस्थाबारे जानकारी लिएका हुन् । सो अवसरमा दाहालले प्रभावित क्षेत्रमा आवश्यक जनशक्तिसहित घाइतेको उद्धार, उपचार र राहत कार्यमा खटिन सम्वन्धित पक्षलाई निर्देशन समेत दिए । 
भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किने क्रममा नेपालगञ्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले भोलिदेखि राहत र पुनर्स्थापनाको काम सुरू गरिने बताए ।
कर्णालीका भूकम्प प्रभावितहरूलाई दिने राहत र गर्ने पुनर्स्थापनाबारे छलफल गर्न प्रधानमन्त्रीले भोलि बिहान ८ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । त्यसपछि विपत व्यवस्थापन समितिको बैठक बस्ने र आवश्यक निर्णय गर्ने उनले बताए । प्रधानमन्त्री दाहालले नेपाललाई चाहिने सहयोग गर्ने भनेर छिमेकी मुलुकहरूबाट पनि फोन आएको र आफूले मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर आवश्यक सहयोगबारे बताउने जानकारी गराएको बताए । रूकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावित क्षेत्रको अवलोकन गरेर प्रधानमन्त्री दाहाल काठमाडौं फर्किएका छन् ।

प्रतिक्रिया