जाजरकोटमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो
काठमाडौः जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ५७ पुगेको छ । प्रहरीले दिएको तथ्यांक अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसमध्ये ९९ जना महिला र ५८ जना पुरुष रहेका छन् । भूकम्पमा परी हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन् । घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन् । जाजरकोटमा घाइते भएका २३ जनाको भेरी अस्पताल, १३ जनाको प्रदेश अस्पताल सुर्खेत र बाँकीको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैगरी रुकुम पश्चिममा घाइते भएका ८ जनाको भेरी अस्पतालमा, ११ जनाको प्रदेश अस्पताल सुर्खेतमा, ७ जनाको काठमाडौँको शिक्षण अस्पतालमा र बाँकीको जिल्लाकै विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । भूकम्ममा परी जाजरकोटको नलगाड नगरपालिकामा सबैभन्दा बढी ५५ रुजनाको मृत्यु भएको छ । त्यस्तै भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिकामा १ जना र कुशे गाउँपालिकामा ७ जनाले ज्यान गुएमा छन् । यसैगरी भूकम्पमा परी रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका–१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । तर त्यसमध्ये आठबीसकोट–१४ का मात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले तीन वटै सुरक्षा निकायहरु घाइतेको उद्दार राहतका लागि जुटेका छन् । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट–१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प जाँदा ठूलो मानवीय र भौतिक क्षति भएको हो ।
प्रतिक्रिया