जाजरकोटमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १ सय ६६ जना घाइते, खोजी तथा उद्दार जारी

काठमाडौः जाजरकोटलाई शुक्रवार राति केन्द्रबिन्दू बनाएर गएको भूकम्पमा परी हालसम्म १४३ जनाको मृत्यु भएको छ । प्रहरीले दिएको तथ्यांक अनुसार जाजरकोटमा १ सय ५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो । भूकम्पमा परी जाजरकोटमा ७१ जना महिला र ३४ जना पुरुष तथा रुकुम पश्चिममा १९ जना पुरुष र १९ जना महिलाले ज्यान गुमाएका छन् । त्यस्तै, भूकम्पमा परी हालसम्म १ सय ७४ जना घाइते भएका छन् । रुकुम पश्चिममा ८५, जाजरकोटमा ८१ जुम्लामा ५ जना, दैलेखमा २ जना, सल्यानमा १ जना घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पमा परी रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका–१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । तर त्यसमध्ये आठबीसकोट–१४ का मात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ । भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । स्थानीय अस्पतालमा उपचार हुन नसकेका घाइतेहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याइएका घाइतेहरुको त्रिवि  शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा अहिले तीन वटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेको जनाइएको छ । भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ भने, रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट–१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प जाँदा ठूलो मानवीय र भौतिक क्षति भएको हो ।

प्रतिक्रिया