मुलुकको अर्थतन्त्रले सकारात्मक बाटो समाएको छ: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको दाबी गरेका छन् । शनिवार नेपाल आर्थिक पत्रकार संघ (नाफीज) को १५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले पछिल्लो समय सामाजिक सञ्जालहरुमा मुलुकको अर्थतन्त्र नकारात्मक रहेको भनी चलेको हल्लामा सत्यता नरहेको बताएका हुन् । उनले अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान लागेको अर्थतन्त्रका सूचकहरुले पुष्टि गरेको उल्लेख गरे । अर्थमन्त्री महतले सरकार अर्थतन्त्रका समस्या तत्काल सम्बोधन गरी आर्थिक वृद्धिको परिस्थिति सिर्जना गर्न र सबै नागरिकलाई आर्थिक वृद्धिको पुहँचमा पु¥याउन लागिपरेको पनि बताए । 
अर्थमन्त्री महतले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावितको उद्धारका लागि सरकार संवेदनशिल भएर लागेको पनि बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले अर्थतन्त्रमा अनिश्चिताको भुमरि देखिएको बताए ।  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न परम्परागत रुपमा भन्दा पनि सबै पक्षहरुलाई एकै ठाउँमा राखेर सबैको धारणा बनाउन आवश्यक रहेको बताए । 
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि नीतिगत सुधार गर्नुपर्ने बताए । वार्षिकोत्सवको अवसरमा १ लाख रासीको पुरस्कार रातोपाटीका प्रयास श्रेष्ठलाई, सिबिफिन बैंकिङ पत्रकारिकता पुरस्कार केटिएम भ्वाइसका रोयल आचार्य र सिबिफिन आर्थिक पुरस्कार विकासन्यूजका सन्तोष रोकायलाई प्रदान गरिएको छ ।
 

प्रतिक्रिया