रुकुम उडेको सेनाको हेलिकप्टर अवतरण गर्न नसकेर सुर्खेत पुग्यो

भूकम्प प्रभावितका लागि मेडिकल टिमसहित काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत पुगेको छ । नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर बुढथापाका अनुसार चौरजहारी विमानस्थलको मौसम नखुलेका कारण सेनाको स्काइ ट्रक त्यहाँ अवतरण गर्न नसकेको हो । सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाको स्काई ट्रक चौरजहारी प्रस्थान गरेको थियो । नेपालगञ्ज विमानस्थलका निमित्त प्रमुख तेजबहादुर बुढथापाका अनुसार  नेपालगञ्जबाट समिट एयरको जहाज पनि चौरजहारी पठाउन खोजिए पनि मौसमका कारण सम्भव नभएपछि सो जहाज हुम्लाको सिमिकोट उडेको छ । नेपाली सेनाको एउटा हेलिकप्टर भने बिहान भूकम्प प्रभावित क्षेत्रमा पुगेर नेपालगञ्ज फर्किसकेको छ । 
 

प्रतिक्रिया