रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न सरकारको निर्देशन
सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न र अन्य एयरलाइन्सहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालले अन्तको उडान स्थगित गरेर भए पनि रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । रुकुमपश्चिमको चौरजहारी र खलंगामा एयरपोर्टहरु छन् । तर जाजरकोटमा एयरपोर्ट भए पनि सन्चालनमा छैन । जाजरकोट जिल्ला र चौरजहारी नजिक भएकाले चौरजहारी एयरपोर्टबाट जाजरकोटमा पनि सेवा पुर्याउन सकिने सरकारको विश्वास छ । यसैगरी सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले रुकुमलाई केन्द्रित गरी नेपालगञ्ज, सुर्खेत लगायतका स्थानमा पनि अन्य एयरलाइन्सलाई स्ट्याण्डबाई रहन निर्देशन दिइएको जानकारी दिए ।।
प्रतिक्रिया