१० वर्षपछि नेपाल टी-२० विश्वकपमा छनाैट

नेपाल सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज काठमाडौंको मूलपानी मैदानमा भएको एशिया क्षेत्र छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा छनोट भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ दशमलव १ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ६३, कप्तान रोहित पौडेलले अविजित ३५, गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन बनाए । युएईका लागि निलांश केस्वानी र बासिल हामिदले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । युएईका लागि वृत्य अरविन्दले सर्वाधिक ६४, बासिमले २६, आसिफ खानले १३, एलिशान शराफले १६ रन बनाए । युएईलाई मध्यम स्कोरमा रोक्न नेपालका कुशल मल्लले ३, सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १÷१ विकेट लिए । जितसँगै नेपाल एशिया क्षेत्र छनोटको फाइनलमा पनि प्रवेश गरेको छ । उपाधिका लागि नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ । आजै त्रिवि मैदानमा भएको खेलमा बहराईनलाई १० विकेटले हराउँदै ओमान पनि विश्वकपमा छनोट हुँदै फाइनलमा पुगेको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया