सीमास्तम्भहरुको पुनर्निर्माण, मर्मतसम्भारको काम शुरु

नेपाल सशस्त्र प्रहरी बलले मधेशका जिल्लाहरुसँग जोडिएको भारतीय सीमानाकामा रहेका सीमास्तम्भहरुको पुनर्निर्माण, मर्मतसम्भार तथा रंगरोगनको काम शुरु गरेको छ । ४ हजारभन्दा बढी सीमास्तम्भहरुको पुनःनिर्माण, मर्मत सम्भार र रंगरोगनको काम शुरु गरिएको हो । धनुषाको सीमावर्ती पालिका नगराईन नगरपालिकाको वडा नम्बर–२ जटही नाकामा सीमास्तम्भको मर्मत गरेर सीमास्तम्भ मर्मत तथा रंगरोगन कार्यको शुभारम्भ गरिएको हो । मधेश प्रदेशका आठ वटै जिल्लाका भारतीय सीमानाकामा रहेको ४ हजारभन्दा बढी सीमास्तम्भहरुको पुनःनिर्माण थालिएको सशस्त्र प्रहरीले जनाएको छ । 
भारतीय पक्षले जोर नम्बर भएको सीमास्तम्भको मर्मत तथा रंगरोगन गर्नेछ । सीमा स्तम्भको मर्मतसम्भारले सीमा स्तम्भको मात्र नभई दुई देशकै सुरक्षा, सद्भाव र प्राविधिक जटिलतालाई समाधान गर्ने भारतको विश्वास छ । 
सीमावर्ती क्षेत्रका जनप्रतिनिधिहरुले पनि सीमास्तम्भ मर्मतको प्रशंषा गरेका छन् । नीतिगत कुराहरुमा सीमावर्ती जनताको सुझावको स्वामित्व समेत हुनुपर्ने उनीहरुको भनाइ छ । 
पहिलो चरणमा १ हजार सीमास्तम्भको मर्मत तथा रंगरोगन गरिने सशस्त्रले जनाएको छ । २०७७ साल श्रावण १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकबाट नेपालले सीमामा रहेका बेजोर नम्बर भएको सीमास्तम्भको पुनःनिर्माण, मर्मतसम्भार तथा रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय गरेको थियो ।
 

प्रतिक्रिया