योगराज ढकाल रिगललाई दिएको आममाफी सर्वोच्चद्वारा बदर, फैसला लगत्तै रिगल नेपालगञ्जबाट पक्राउ

काठमाडौ । सर्वोच्च अदालतले बाँकेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय बदर गरेको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले आममाफीको निर्णय बदर गर्न आदेश दिएको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ जनाएको छ । सर्वोच्चले ढकाललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये असुल उपर हुन बाँकी देखिएको ११ वर्ष ११ महिना ५ दिन कैद कानूनबमोजिम असुल गर्न परमादेश जारी गरेको छ । 
सर्वोच्च अदालतले कैदीलाई कैद छुट दिँदा पीडितको सहमति अनिवार्य लिनुपर्ने ठहर पनि गरेको छ । कैद छुट दिने वा मिनाहा गर्ने निर्णय गर्दा कानुनले तोकेको प्रतिशतका अतिरिक्त पीडितको सहमति अनिवार्य लिनुपर्ने फैसलामा उल्लेख छ । आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् र मन्त्रिपरिषद्को सिफारिसअनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।
यसैबीच, योगराज ढकाल रिगललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्चको आदेशपछि प्रहरीले रिगललाई नेपालगञ्जबाट पक्राउ गरेको हो । सर्वोच्चको आदेश बमोजिम अब रिगलले ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्नेछ । संविधान दिवसको अवसर पारेर सरकारले ४० प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन असल रहेको भन्दै ढकाललाई कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले संविधान दिवसका अवसरमा दिइएको कैद मिनाहविरुद्ध हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिगलमाथि नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २०७२ असार २८ मा चेतन मानन्धरको हत्या गरेको अभियोग लागेको थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार दाङबाट छुटेका थिए ।

प्रतिक्रिया