सर्वोच्चद्वारा योगराज ढकाल रिगललाई दिएको आममाफी बदर, तत्काल पक्राउ गरी १२ वर्ष कैद असुल उपर गर्न परमादेश
काठमाडौ । सर्वोच्च अदालतले बाँकेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय बदर गरेको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले आममाफीको निर्णय बदर गर्ने आदेश दिएको हो । आज फैसला सुनाउँदै सर्वोच्चले रिगललाई तत्काल पक्राउ गर्न पनि आदेश दिएको छ । फैसलासँगै ढकाल फेरि बाँकी कैद भुक्तानका लागि थुनामा बस्नुपर्ने भएको छ । अझै ११ वर्ष ११ महिना ५ दिन कैद असुलउपर गर्नका लागि ढकाललाई तत्काल पक्राउ गर्न परमादेश जारी भएको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ ।संविधान दिवसको अवसर पारेर सरकारले ४० प्रतिशत कैद भुक्तान गरिसकेको र चालचलन असल रहेको भन्दै ढकाललाई कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले संविधान दिवसका अवसरमा दिइएको कैद मिनाहविरुद्ध हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो । उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए ।
प्रतिक्रिया