गाजामा इजरायल र हमासका लडाकुबीच भीषण भिडन्त, शरणार्थी शिविरमा भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु

काठमाडौ । उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा भएको विस्फोटमा परी कैयौँ मानिसको मृत्यु भएको छ । हमास शासित स्वास्थ्य मन्त्रालय र नजिकैको इन्डोनेसियाली अस्पतालले विस्फोटमा परी कम्तीमा ५० जनाको ज्यान गएको बताएको छ । मानिसहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् । यसैबीच, गाजामा इजरायलको स्थल सैन्य कारबाहीका क्रममा रातभर नै हमासका लडाकुसँग भीषण भिडन्त भएको छ । गाजामा स्थल सेना परिचालनसम्बन्धी भिडियो जारी गर्दै इजरायली सेनाले युद्धमा आफ्नो जित हुने दाबी गरेको हो । सेनामाथि हमास आतंकवादीहरुले ट्यांक प्रतिरोधक क्षेप्यास्त्र र मेसिन गनले आक्रमण गरेको इजरायलको दाबी छ । गाजाको जमिनमुनि बनाइएका सुरुङ संजालमा हमासका लडाकुहरुमाथि आक्रमण जारी रहेको सेनाले जनाएको छ । इजरायली सेनाले गाजामाथिको हवाई आक्रमणलाई पनि निरन्तरता दिएको र रातभरिमा हमासका ३ सय वटा केन्द्रमा आक्रमण गरिएको जनाएको छ । इजरायलले हमासमाथिको आक्रमणलाई उत्तरी गाजामा केन्द्रित गरेको बताएपनि दक्षिणी क्षेत्रमा पनि आक्रमण जारी राखेको छ । हमासले दक्षिणी गाजामा इजरायली सेनाका ३ वटा ट्यांकलाई क्षेप्यास्त्र प्रहार गरेको र स्थल सेनामाथि पनि बम आक्रमण गरेको जनाएको छ । प्यालेष्टिनी लडाकु समूहले अक्टोबर ७ मा अप्रत्यासित रुपमा इजरायलमाथि आक्रमण गरी कम्तीमा १४ सय जनाको ज्यान लिए यता इजरायलले गाजामाथि आक्रमण गर्दै आएको छ । इजरायलको आक्रमणवाट ८ हजार ५ सयभन्दा बढी मारिएका छन् । 

प्रतिक्रिया