परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सहयोग नियोग यूएसएआइडीका प्रमुख प्रशासक समान्था पावरबीच भेटवार्ता
काठमाडौ । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सहयोग नियोग यूएसएआइडीका प्रमुख प्रशासक समान्था पावरबीच भेटवार्ता भएको छ । भेटमा नेपालको विकासका प्राथमिकताहरूमा यूएसएआइडीका चालु कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको छ । सो अवसरमा प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता जनाएकी छन् । यूएसएआइडीको मुख्यालय वासिंटन डीसीमा भएको भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत ६ दशकभन्दा लामो समयदेखि यूएसएआइडीले पु¥याएको सहयोगका लागि धन्यवाद प्रकट गरेका छन् । सन् २०२२ को मे ५ मा पाँच वर्षका लागि नेपाल सरकार र यूएसएआइडीले गरेका विकाससम्बन्धी सम्झौताअनुसार ६५ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्झौता भएको थियो । सो रकम नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भएर मध्यमस्तरको विकासशील देशका रूपमा प्रवेश भएपछिको अवस्थालगायतका विषयमा खर्च गरिने उल्लेख छ । भेटमा नेपालको आर्थिक, सामाजिक क्षेत्रको विकासमा अमेरिकाले लामो समयदेखि सहयोग पु¥याउँदै आएको चर्चा मन्त्री साउदले गरेका थिए ।
प्रतिक्रिया