प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाइएका तीन जना महिलाको भिडियो सार्वजनिक

काठमाडौ । प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाइएका तीन जना महिलाको भिडियो सार्वजनिक गरेको छ । अक्टोबर ७ मा भएको आक्रमणका क्रममा अपरहणमा परेका २ सय ३० भन्दा बढी व्यक्तिहरूमध्ये तीन जना महिलाको भिडियो सार्वजनिक भएको हो । हमासले ७६ सेकेन्डको भिडियोमा महिलालाई ‘यहुदी बन्दी’ को संज्ञा दिएको छ । भिडियोमा एक महिलाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सबै बन्दीहरूको रिहाईका लागि कैदी आदानप्रदानमा सहमत हुन आग्रह गरेकी छिन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने हमासले अक्टोबर ७ मा गरेको भीषण आक्रमणमा तीन जनालाई बन्धक बनाएको भिडियो ‘क्रूर मनोवैज्ञानिक दुष्प्रचार’ भएको बताएका छन् । उनले गाजाका लडाकूलाई इस्लामिक स्टेट समूहसँग तुलना गरेका छन् । प्रधानमन्त्री नेतन्याहूले भिडियोमार्फत् सार्वजनिक महिलाको नाम येलेना ट्रुपानोब, डेनियल एलोनी र रिमोन किश्र्ट भएको बताउँदै ‘अपहरणमा परेका र हराइरहेका सबैलाई घर फर्काउने’ प्रतिबद्धता जनाएका छन् । अक्टोबर ७ मा हमासका सयौं बन्दुकधारीले सीमा पार गरी दक्षिणी इजरायलमा प्रवेश गरी किबुट्ज समुदाय, शहर र सैन्य अखडामा आक्रमण गरेपछि बन्धक बनाइएका थिए । बन्दीहरुलाई हमासले घेराबन्दी गरेको क्षेत्रमा निर्माण गरेको भूमिगत सुरुङमा राखेको अनुमान गरिएको छ । हमासको आक्रमणमा इजरायलमा एक हजार ४ जना सर्वसाधारणको मृत्यु भएको थियो । गाजामा आठ हजार तीन सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । तीमध्ये आधाभन्दा बढी महिला तथा बालबालिका छन ।
 

प्रतिक्रिया