परराष्ट्रमन्त्री साउद र अमेरिकी समकक्षी ब्लिंकेनबीच बासिङटनमा भेटवार्ता
काठमाडौ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपाल अमेरिकाको इन्डो प्यासिफिक क्षेत्रमा महत्वपूर्ण साझेदार रहेको बताएका छन् । अमेरिका पुगेका नेपालका परराष्ट्रमन्त्री एनपी साउदसँग द्धीपक्षीय भेटवार्तापछि गरेको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले नेपाल इन्डो प्यासिफिक क्षेत्रमा निकै महत्वपूर्ण साझेदार भएको बताएका हुन । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिका र नेपालबिच ७६ वर्षको कुटनीतिक सम्बन्ध रहेको उल्लेख पनि गरे । उनले नेपालले क्षेत्रीय मात्र नभई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय संस्थाहरूमा धेरै रचनात्मक रुपमा नेतृत्व गरिरहेको उल्लेख गरे । उनले नेपालले धेरै शान्ति सैनिकहरू पठाएर मानिसहरूलाई द्वन्द्वबाट विश्वभर शान्तिमा जान मद्दत गर्न प्रयास गरिरहेको भन्दै प्रशंषा समेत गरे । जनता जनताबिचको सम्बन्ध, आर्थिक सम्बन्ध, लगानी लगायत कुराहरूबाट द्विपक्षीय सम्बन्धलाई अझ गहिरो र अझ बलियो बनाउन अमेरिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । ब्लिन्केनले इजरायलमा हमासद्वारा मारिएका १० नेपाली विद्यार्थीहरूप्रति अमेरिकाको समवेदना व्यक्त गरे । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र अमेरिकाबिच निकै लामो र घनिष्ट सम्बन्ध रहेको बताए । उनले अमेरिका नेपालको विकास साझेदार हुनुका साथै धेरै क्षेत्रहरूमा मद्दत गरिरहेको भन्दै प्रशंषा गरे । दुई विदेशमन्त्रीको भेटका क्रममा द्विपीक्षय सम्बन्धसँगै विकास सहयोग, व्यापार र बजारमा पहुँच, लगानी र प्रविधिका साथै कृषि र खाद्य सुरक्षाका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साउदले ब्लिंकनलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया