प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारत सरकारले न्यूनतम निर्यात मूल्य अधिसूचित गर्दै
काठमाडौ । भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८ सय अमेरिकी डलर को निर्यात मूल्य अधिसूचित गरेको छ । घरेलु बजारमा प्याजको उपलब्धता कायम राख्न पनि यो कदम चालिएको अधिकारीहरूले बताएका छन् । संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका अनुसार यो सूचना हिजोदेखि लागू भएको छ । डिसेम्बर ३१ सम्म यो नियम लागू हुनेछ । सो निर्णयसँगै सरकारले प्याजको मूल्य स्थीर राख्न विदेशबाट थप दुई लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने पाँच लाख टनभन्दा बढी प्याज खरिद भइसकेको मन्त्रालयले जनाएको छ । पछिल्लो दुई सातामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आपूर्ति अभावबिच हालैका दिनमा प्याजको भाउ प्रति किलो असी भारतीय रुपैया पुगेको हो । राजधानी नयाँ दिल्लीको खुद्रा बजारमा एक किलो प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच किनबेच भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । खुद्रा बजारमा भाउ बढ्न थालेपछि केन्द्र सरकारले सहुलियत दरका पसलहरू खोलेर प्रतिकिलो २५ रुपैयाँमा प्याज बेच्न सुरु गरेको छ । तर बजार भाउमा कुनै असर देखिएको छैन । नयाँ प्याज बजारमा आउन ढिला भएकाले पनि मूल्य उकासिएको छ । नयाँ प्याज बजारमा आउने समय भइसके पनि अहिलेसम्म बजारमा आएको छैन । यता नेपाली बजारमा प्याजको भाउ फेरि बढ्न थालेको छ । यो महिनाको शुरुवाती दिनमा किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ आज १ सय १५ देखि १२० रुपैयाँ थोक मूल्यमा पुगेको छ । भारतमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । पछिल्लो दुई हप्तामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ ।
प्रतिक्रिया