भारतको आन्ध्र प्रदेशको भिजियानगरममा भएको रेल दुर्घटनामा १३ जना यात्रुको मृत्यु

काठमाडौ । भारतको आन्ध्र प्रदेशको भिजियानगरममा हिजो साँझ भएको रेल दुर्घटनामा १३ जना यात्रुको मृत्यु भएको छ । ५० यात्रुहरू घाइते भएका छन् । अस्पतालमा भर्ना गरिएका घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । हावडा चेन्नई लाइनमा विशाखापट्टनम रायगडा प्यासेन्जर स्पेशल रेलले विशाखापट्टनम पलासा प्यासेन्जर एक्सप्रेसलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । कान्तकपल्ले र अलामान्डा रेलवे स्टेशनहरू बीचको ठक्करका कारण दुबै रेलहरू नराम्ररी क्षतिग्रस्त भएका छन । कम्तीमा पाँचवटा डिब्बा पटरीबाट खसेका छन् । यसका कारण पनि उद्धारकार्यमा समस्या भएको बताइएको छ । भारतको रेल्वे मन्त्रालयले प्रारम्भिक अनुसन्धानमा अनियन्त्रित संकेतले मानवीय त्रुटि भएको कारण देखाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गर्दै पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । गत जुन महिनामा ओडिसामा भएको रेल दुर्घटनामा २८० जनाको ज्यान गएको थियो । भारतमा हरेक दिन १४ हजार रेल गुड्छन् भने एक करोड २० लाख मानिस रेलमा यात्रा गर्ने गर्दछन ।

प्रतिक्रिया