दसैँका अवसरमा पनि श्रम बेच्न विदेसिने युवाको संख्या घटेन
काठमाडौ । दसैँका अवसरमा श्रम बेच्न विदेसिने युवाको संख्या नघटेको देखिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को साउन, भदौ र असोज महिनामा बिदेसिनेको सङ्ख्या हेर्दा सबैभन्दा धेरै असोजमा विदेश गएका हुन । वैदेशिक रोजगार विभागका अनुसार साउन महिनामा ५५ हजार ५७५ जना श्रम स्वीकृति लिएर बिदेसिए, भदौमा ५० हजार ८८४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए र असोजमा ५६ हजार २३५ जना श्रम गरेर बिदेसिएका छन् । चालु आवको असोजमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाको सङ्ख्या ५६ हजार २३५ पुगेको छ । गत वर्षको असोजमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या ६२ हजार ७०६ थियो । यसै गरी गत आवको साउन, भदौ र असोजमा दुई लाख दुई हजार बिदेसिएकामा चालु आवको पहिलो तीन महिनामा यो सङ्ख्या एक लाख ६२ हजार ९०४ जनामा झरेको छ । सो अवधिमा श्रम स्वीकृति लिएर विदेश गएकामध्ये एक लाख ४१ हजार ४४५ जना पुरुष र २१ हजार ४५९ जना महिला रहेका छन् ।गत आवको पहिलो तीन महिनामा रोजगारी खोज्दै विदेश जाने नेपाली श्रमिकको सङ्ख्या लगभग २१ प्रतिशतले घटेर एक लाख ६२ हजार ९०४ जनामा सीमित भएको छ । वैदेशिक रोजगारीको इतिहासमै गत आवको भदौ महिनामा सबैभन्दा बढी ७६ हजार ४०३ श्रमिकले वैदेशिक रोजगारीमा जान सरकारबाट श्रम स्वीकृति लिएका थिए । यो सङ्ख्या वैदेशिक रोजगारीको तथ्याङ्क राख्न सुरु गरेयता २९ वर्षकै उच्च हो । चालु आवमा भने यो सङ्ख्या औसत ५५ हजारमा सीमित भएको छ । गत आवमा सात लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
प्रतिक्रिया