हिमाली क्षेत्र जलवायु परिवर्तनको मारमा परेको राष्ट्रसंघ महासचिव गुटरेसको भनाइ

काठमाडौ । सगरमाथा क्षेत्रको अवलोकन सोलुखुम्बुको खुम्जुङ पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएको असरसँग लड्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हिमाली क्षेत्र जलवायु परिवर्तनको मारमा परेको भन्दै गुटेरेसले असर न्यूनिकरणका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका हुन । नेपाली सेनाको हेलिकोप्टरमार्फत खुम्बु पासाङ ल्हामु गाउँपालिका– ४ खुम्जुङ आएका गुटेरेसले स्थानीयसँगको अन्तरक्रियामा विकसित राष्ट्रहरुको नियति विकशील राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गरे । विश्वका ठूला तथा विकासित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भएपनि त्यसको प्रत्यक्ष मारमा भने नेपालजस्ता साना राष्ट्रहरु परेको उनको भनाइ छ । करिब २ घण्टा खुम्जुङमा स्थानीय, अगुवा, पर्यटन व्यवसायी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गरेका गुटेरेससँग खुम्बुका नागरिकहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिदै गएको र हिमाल कालापत्थरमा परिणत भएकाले हिमाली बस्ती जोखिममा रहेको बताए । गुुटरेस आज पोखरा जाने कार्यक्रम छ । उनले भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन । त्यसपछि भोलि नै गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्ने तालिका छन । लुम्बिनीबाट काठमाण्डौ फर्केर भोलि दिउँसो चार बजेपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गुटेरेसले सम्बोधन गर्नेछन । त्यसपछि उनले संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नेछन । बुधवार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ । गुटरेस हिजो नेपाल आउनेबित्तिकै हिजो दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका थिए ।
 

प्रतिक्रिया