शान्ति प्रक्रियामा सहयोग गर्न राष्ट्रसंघ तयार रहेको गुटेरेसको भनाइ

काठमाडौ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघ नेपालको शान्ति प्रक्रियाको काम पूरा गर्न सघाउन तयार रहेको बताएका छन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि आज सिंहदरबारमा पत्रकारलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार शान्तिप्रक्रियालाई टुंगोमा पु¥याउनुपर्ने बताएका हुन । महासचिव गुटेरेस सर्वोच्च अदालतको आदेश र पीडितका मुद्दाहरूको सम्बोधन हुने गरी शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा समेत जोड दिए । महासचिव गुटेरेसले शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको उपस्थितिको प्रशंषा समेत गरेका छन । उनले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपीन जोशीको सुरक्षित घर फिर्तीको कामना गर्दै सबै बन्धक विनासर्त रिहाई हुनुपर्ने बताए । भगवान बुद्धको शान्तिको शिक्षा अहिलेको समस्याग्रस्त संसारमा पहिले भन्दा सान्दर्भिक रहेको बताउँदै महासचिव गुटेरेसले आफूले लुम्बिनीको पनि भ्रमण गर्न लागेको उल्लेख गरे । शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेकोमा उनले खुसी प्रकट गरे । नेपाल र राष्ट्रसंघबीच सहयोग बढाउन आफू नेपाल आएको जानकारी समेत महासचिवले दिए ।

प्रतिक्रिया