एसीसी प्रिमियर कपको बिजेता क्रिकेट टोली स्वदेश फिर्ता
एसीसी यू–१९ प्रिमियर कपको उपाधिसहित नेपाली युवा टिम स्वदेश फर्किएको छ । नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो । प्रिमियर कपको उपाधिसहित यू–१९ एसिया कपमा छनोट भएको नेपाली टिमलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् राखेपका प्रतिनिधि लगायतले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा नेपाली क्रिकेट टोलीको कप्तान देव खनालले भारत र पाकिस्तानलाई हराउने लक्ष्य सहित एसिया कप खेल्ने बताए ।
मुख्य प्रशिक्षक जगत टमाटाले दशैंमा ट्रफी ल्याएर नेपालीको मुहारमा खुसी दिने सपना पूरा भएको बताए । खेलाडीले विश्वकप छनोटको भन्दा राम्रो प्रदर्शन गरेको उनको भनाइ छ ।
मलेसियामा भएको फाइनल खेलमा नेपालले फाइनलमा यूएईलाई डकवर्थ लेविस पद्धतिअनुसार १९ रनले हराउँदै उपाधि जितेको थियो । नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालसँगै यूएई र जापानले एसिया कपमा स्थान बनाएका छन् । प्रतियोगिताको उत्कृष्ट तीन टोलीले एसिया कपमा स्थान बनाएका हुन् । यू–१९ एसिया कपको समूह ‘ए’मा नेपालले पाकिस्तान र भारतसँगै यूएईसँग खेल्नेछ । समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश, श्रीलंका र जापान छन् ।
प्रतिक्रिया