दशैं मनाउन गाउँ जाने फर्केसँगै उपत्यकामा चहलपहल बढ्यो
आजदेखि राजधानी काठमाडौं उपत्यकामा केही चहलपहल बढेको छ । दसैँ मनाउन गाउँ जानेहरू भने हिजोदेखि नै उपत्यका भित्रिन थालेसँगै चहलपहल बढेको हो । दशैँका लागि गाउँघर गएकाहरु भोलीदेखि सरकारी कार्यालयहरु खुल्ने भएपछि धमाधम फर्किरहेका छन । बुधबार साँझ ६ बजेसम्म पाँच हजार ५९० सवारी साधनबाट ४४ हजार ३९४ जना काठमाडौं उपत्यका प्रवेश गरेको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । दशैं मनाउन जानेहरु फर्केसँगै काठमाण्डौसँग जोडिएका मुख्य नाकामा चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड र भक्तपुर बनेपा सडक खण्डमा बढी चाप रहेको छ । मुख्य राजमार्गका सडक जिर्ण हुँदा यात्रा भने कस्टकर भएको यात्रुको गुनासो छ । विस्तार तथा मर्मतका लागि खनिएका र भत्काइएका सडकमा समयमै काम नहुँदा यात्रुले सास्ती ब्यहोरेका छन । प्रहरीले भने चाडपर्वको समयमा हुने दुर्घटना यो वर्ष कम भएको जनाएको छ । दशैँको अष्टमीका दिन पाल्पामा जीप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको ज्यान गएको थियो । यस्तै, हिजो धादिङको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बस, मोटरसाइकल र कार ठोक्किँदा १६ जना घाइते भएका छन् । अन्य ठाउँमा ठूला दुर्घटना नभएको प्रहरीको तथ्यांक छ ।।
प्रतिक्रिया