गाजा क्षेत्रमा स्थल सैन्य कारबाही थाल्ने इजरायलको तयारी

इजरायलले गाजा क्षेत्रमा स्थलगत सैन्य कारबाहीको तयारी अघि बढाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा क्षेत्रमा स्थल सैन्य कारबाहीको तयारी भइरहेको जानकारी दिएका हुन । त्यस्तो सैन्य कारबाही कहिले सुरु हुन्छ भन्नेबारे केही खुलाएका छैनन । नेतन्याहूले यस्तो कारबाही प्रारम्भ मात्र भएको दाबी गरे । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीचको अक्टोबर ६ सम्मको यथास्थितिमा फर्कन नसकिने जिकिर गरेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले पनि प्यालेस्टेनीमाथि दमन गरेको तर हमासले गरेको आतंकले प्यालेस्टेनीहरुको गुनासो समाधान नगर्ने टिप्पणी गरेका छन् । मंगलबारको आफ्नो टिप्पणीमाथिका प्रतिक्रियाले स्तब्ध भएको बताएका छन् । यसैबीच इजरायलले राष्ट्र संघका अधिकारीलाई भिसा नदिने निर्णय गरेको इजरायलका राजदुतले बताएका छन् । संयुक्त राष्ट्र संघको महासचिव एन्टोनियो गुटेरेसले मंगलबार सुरक्षा परिषदको बैठकमा दिएको वक्तव्यप्रति खेद व्यक्त गर्दै सो निर्णय लिएको भनिएको छ । त्यस्तै इन्धन अभाव भएपछि गाजा क्षेत्रका अस्पतालहरुमा काम अवरुद्ध भएको छ । गाजाका ३५ मध्ये १२ वटा अस्पताल पूर्ण रुपमा बन्द भएको र अधिकांश आपतकालीन कक्षले नयाँ घाइतेलाई भर्ना गर्ने क्षमता नरहेको बताईएको छ । पछिल्लो तथ्यांकअनुसार अक्टोबर यताको युद्धमा करिब ६ हजार ५ सय प्यालेस्टेनीको र चौध सय इजरायलीको मृत्यु भएको छ । मारिनेमा कम्तिमा दुई हजार बालबालिका छन् ।हमासले कम्तिमा दुई सय जनालाई बन्धक बनाएको छ । इजरायल हमासको युद्धका कारण प्यालेसटाइनमा झण्डै ६ लाख नागरिक विस्थापित भएका छन् जसालाई संयुक्त राष्ट्र संघको राहत एजेन्सीको अस्थायी केन्द्रमा आश्रय दिइएको छ । एक सय पचासभन्दा बढि अस्थायी केन्द्रमा क्षमता भन्दा बढी विस्थापितलाई राखिएको छ ।। 
 

प्रतिक्रिया